Notification texts go here Contact Us Buy Now!

विदेशमा सीप सिकेर स्वदेशमा लगानी

कुनै समय घरका आँगन र डिलमा सौखका रूपमा कफी लगाइन्थ्यो। उत्पादन लिन नभई घर वरपरको वातावरण सुन्दर र हरियाली बनाउन गाउँघरमा सबैका घरमा दुई-चार बोट कफीका भेटिन्थे। कफीका बोटमा फलेका दानाको महत्व राम्रोसँग थाहा नहुँदा त्यसै खेर जान्थ्यो।

हिजोआज भने कफीतर्फ आकर्षण बढ्दै गएको छ। यसको खरिद बिक्री, खेती विस्तारमा समेत जोड दिइन थालिएको छ। पाल्पाको रामपुर नगरपालिका-५ भम्बकका प्रेमबहादुर सिंले अहिले कफीखेती गर्नुका साथै गाउँघरमा उत्पादित कफी खरिद बिक्री गरिरहेका छन्। करिब आठ वर्ष दक्षिण कोरिया बसेर फर्किएका उनी अहिले कफी व्यवसायमा रमाइरहेका छन्।

विदेशमा रोजगारीका क्रममा उनी कफी कम्पनीमा काम गर्थे। त्यहाँ बस्ने क्रममा कफी उत्पादन, प्रशोधन र बजारीकरणका सीप सिकेपछि अहिले स्वदेशमा बसेर व्यवसाय गर्न सजिलो भएको बताउँछन्। वैदेशिक रोजगारीका क्रममा गुल्मीमा उत्पादन भएको कफी आफू कार्यरत कम्पनी सञ्चालकले खरिद गरी हिमालयको गिफ्ट नामले प्रशोधन गरी बजारमा बिक्री गरेको देखेपछि सिंले गाउँ फर्केर आफ्नो देशको उत्पादन आफैंले बिक्री गर्ने अठोट लिए।

‘हाम्रो देशमा उत्पादन भएको कफी विदेशीले महँगो मूल्यमा ब्राण्ड बनाएर बजारमा बिक्री गरिरहेको छ’, उनले भने, ‘सीप र प्रविधि नहुँदा नेपाली उत्पादन विदेशीले प्रशोधन गरी बजार पठाएका छन्, आफ्नो उत्पादन आफैं प्रशोधन गरी बजार पठाउने मनसायले विदेशबाट फर्केर यस व्यवसायमा लागेको हुँ।’

नेपालमा उत्पादन भएको कफीको स्वाद बेग्लै पाएपछि नेपाल फर्के लगत्तै व्यवसायमा लागेको सिं बताउँछन्। उनले कफी उत्पादन, खरिद बिक्री मात्र नभई ग्राहकको मागअनुसार बिरुवा उपलब्ध गराउँदै आएका छन्। बरमुन अर्मिलो, बरमुन भर्बिलो, गेइसिया जातका कफी खरिद बिक्री गर्छन्। स्थानीय उत्पादन भएकाले ग्राहकले धेरै मन पराएका छन्।

उनी भन्छन्, ‘घरका आँगन, डिल वरिपरि सौखमा रूपमा लगाइएका पाँच-सात कफीका बोट आमाले लगाउने गर्नुहुन्थ्यो, दाना फल्ने आफैँ भुइँमा झर्ने गर्थ्यो, कुनै उपयोगमा ल्याइएन, विदेशमा गएपछि मात्रै कफी कम्पनीमा काम गर्न थालेपछि यसको महत्व र फाइदाबारे जानकारी पाएँ।’

विदेशमा बटुलेको अनुभवले सिंले स्वदेशमा सोही सीप लगानी गरेका छन्। आफूले उत्पादनदेखि प्रशोधनका प्रविधिको ज्ञान सीप जानेपछि काम गर्न धेरै सजिलो परेको उनको भनाइ छ। उनले गुल्मीबाट बीउ ल्याएर खेती सुरु गरेका हुन्। स्याङ्जाको चापाकोट नगरपालिका-४ लग्दाहामा आजभन्दा करिब सात वर्षअघि पाँच सय बोटबिरुवा लगाए। सो बिरुवाले हाल उत्पादन दिइरहेको छ। व्यावसायिक तवरबाट खेती गरेका उनले बिरुवा लगाएको दुई वर्षमा फुल्न थालेको बताउँछन्।

स्याङ्जाको वालिङ, जगत्भन्ज्याङमा उत्पादन भएका कफी खरिद गरेर पाल्पा रामपुरमा प्रशोधन गरी बाहिर पठाउँछन्। ‘अर्गानिक चिया तथा कफी’ नाममा गत वर्ष घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा दर्ता गरी आफैं उत्पादन, खरिद, प्रशोधन गरी बजारीकरण गरिरहेका छन्। आफ्नै घरमा प्रशोधन मेसिन जडान गरी बजारीकरण गरेपछि राम्रै आम्दानी हुन थालेको सिंले बताए।

गत वर्ष मात्रै आफूले लगाएको एक हजार आठ सय किलो कफी उत्पादन गरेका छन् भने करिब २८ टन कफी खरिद बिक्री गरेको उनले बताए।

गत वर्ष एक हजार छ सय किलो कफी जापान, २५ किलो जर्मनी, सात किलो भारत, छ किलो कोरिया लगायत देशमा खपत गरेका छन्। गत वर्ष करिब आठ लाख रुपैयाँ बराबरको कारोबार गरेका सिं यस वर्ष रु १० लाख बढी कारोबार हुने बताउँछन्। छहारी, भिरालो जमिनमा बिरुवा लगाएका छन्। कफी खेतीलाई व्यवसायीकरण गर्न उनले आफैँ उत्पादन गरेको एक हजार बिरुवा स्थानीयलाई निःशुल्क वितरण गरेका छन्। यस वर्ष पाल्पा रामपुरमा कफीका बिरुवा लगाउने तयारी गरिरहेका छन्।

‘यसै व्यवसायबाट परिवारको जीविका चलेको छ, अर्काको देशमा काम गर्न सजिलो छैन, आफ्नै देशमा बसेर व्यवसाय गर्दाको आनन्द नै बेग्लै छ”, उनले भने।

कफी प्रशोधनका लागि घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले प्रशोधन गर्ने मेसिन अनुदानमा उपलब्ध गराएपछि सहज भएको छ। आफ्नै देशमा घरपरिवारका साथमा व्यवसाय गर्न पाउँदा मन आनन्दित भएको सिं अनुभव सुनाउँछन्। आफ्नो देशमा उत्पादन भएको वस्तु यहीँ प्रशोधन गरी उपभोक्तामाझ पुर्‍याउन पाउँदा खुसीको क्षण सम्झन्छन्। उनले रामपुर क्षेत्रलाई कफी उत्पादन प्रशोधन केन्द्रका रूपमा चिनाउने अठोट लिएका छन्। जापानबाट माग धेरै आएकाले पुर्‍याउन नसकिएको उनी बताउँछन्। प्रशोधन गरिएको कफी हाल सिंले प्रतिकिलो एक हजार आठ सय रुपैयाँमा बजारमा बिक्री गरिरहेका छन्।

कफी उत्पादनका लागि सातवटा प्रशोधन मेसिनको व्यवस्थापन गरेका छन्। यस व्यवसायमा करिब १० लाख रुपैयाँ बराबरको लगानी परेको छ। अहिले उहाँको नर्सरीमा करिब आठ हजार कफीका बिरुवा बिक्री गर्न लायकका छन्। मध्यपहाडका ४० जिल्लामा कफीखेती गरिएको तथ्याङ्क छ। केही जिल्लामा भने व्यावसायिक रूपमा खेती गरेको पाइन्छ। पाल्पा, स्याङ्जा, पर्वत, अर्घाखाँची, कास्की, लमजुङ, तनहुँ, गोरखा, ललितपुर, धादिङ, मकवानपुर, म्याग्दी, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक लगायत जिल्लामा कफीखेतीको विस्तार गरिँदै छ। रासस



from Nagarik News - Home नागरिक

About the Author

DjNeshan is a name among millions who struggled, failed and surged ahead in search of success, happiness and contentment. Just like any middle class guy, he too had a bunch of unclear dreams and a blurred vision of his goals in life. All he had was …

إرسال تعليق

Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.