Notification texts go here Contact Us Buy Now!

घाँस खेतीबाट आम्दानी गर्दै दाङका किसान

घोराही-६ का खुसल डाँगी पेसाले शिक्षक हुन्। बिहान बेलुकाको समय सदुपयोग गरेर एक भैंसी, १० वटा बाख्रा पालेका छन्। घर नजिकैको १५ कट्ठा जमिनमा वरसिम खेती गरेका छन्। वरसिम घाँसबाट गाईवस्तु पाल्न सजिलो भएको उनी बताउँछन्।

पहिले तोरी, गहुँ र मसुरा खेती गर्ने त्यो जग्गामा अहिले वरसिम घाँस लगाउने गरेको उनी बताउँछन्। हरियो हुँदा घाँस काटेर गाईवस्तुलाई खुवाउने र फल लागेमा बेच्न पाइने उनको भनाइ छ। उनी भन्छन्, ‘गाईवस्तुका लागि घाँस खोज्न भौंतारिनुपरेको छैन, घर छेउको खेतबाट सजिलै घाँस ल्याउन पाउँदा समयको बचत पनि भएको छ।’

गत वर्ष एक लाख रुपैयाँको वरसिम घाँस बेचेको उनले बताए।

घोराही–१७ कर्जाहीका अनिल चौधरीले दुईवटा दुहुना भैंसी र आठवटा बाख्रा पालेका छन्। उनको मुख्य पेसा कृषि नै हो। उनले पनि घर नजिकैको १३ कट्ठा खेतमा वरसिम घाँस लगाएका छन्। आफैंले बीउ उत्पादन गरेर बर्सेनि घाँस खेती गर्ने गरेको उनले बताए। उनी भन्छन्, ‘गत वर्ष ७० हजार रुपैयाँको घाँसको बीउ बेचेको थिएँ।’

गँहु र मसुरोभन्दा धेरै आम्दानी हुने भएकाले यहाँका धेरैजसो किसान घाँस खेतीमा आकर्षण बढेको छ।

यसैगरी घोराही-७ का रुपक बुढाले पनि १३ कट्ठा खेतमा वरसिम घाँस खेती गरेका छन्। वरसिम घाँँस एक याममा पाँच पटकसम्म काट्न सकिन्छ। घाँस लगाउँदा धान उत्पादन समेत बढ्ने उनको अनुभव छ। घाँस छरेपछि गोडमेल र स्याहार्ने झन्झट नभएकाले घाँसखेतीमा आकर्षण बढेको हो। गाई, भैंसी, भेडा, बाख्रा र कुखुरालाई समेत यो घाँसले फाइदा पुर्‍याउँछ। उनले पनि गत वर्ष ९० हजार रुपैयाँको घाँस बेचेका थिए।

किसानले आम्दानी गर्न नगदे बालीको खेती गर्ने गरेको भए पनि दाङका किसानले घाँस बेचेर मनग्य आम्दानी गर्न थालेका छन्। कृषकहरूले व्यावसायिक रूपमा वरसिम घाँस खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन्। घोराही उपमहानगरपालिका-५, ६, ७ र १७ का किसान प्छिल्लो समयमा घाँस खेतीतर्फ आकर्षित बनेका छन्।

धान खेतीपछि वरसिम घाँस खेती गर्ने गरिन्छ। वरसिम घाँस एक वर्षीय हिउँदे कोसे घाँसबाली हो। यसलाई भुई घाँस पनि भनिन्छ। यो घाँस दूध उत्पादनका लागि अत्यन्तै लाभकारी मानिन्छ। बर्सातको समयमा लगाएको धान काट्नुभन्दा अगाडि मसुरो छरे जस्तै यो घाँसको बीउ छर्ने गरिन्छ। घाँस उम्रँदा धान काटिसकेको हुनुपर्छ। कसैले यसलाई खेत जोतेर पनि छर्ने गरेका पनि छन्। घोराही-६ का कृषकले १० कट्ठादेखि साढे दुई बिघासम्म घाँस खेती गरेका छन्।

पछिल्लो समय दाङका धेरैजसो स्थानमा यो घाँस खेती हुने गरेको छ। दाङको देउखुरी क्षेत्रका पशुपालक किसान पनि यो घाँस खेती गर्न थालेका छन्। घोराही उपमहानगरपालिका-६ को गुरुवागाउँ, गुरगै, वेरुवागाउँ, जजरागाँउ, वेरगै, फचकपुर र अघरा घोराही-१७ को गैरागाउँका किसानहरूले वरसिम घाँस खेती गरेका छन्।

अहिले उक्त क्षेत्रमा रहेका एक सय ८० घरपरिवारले घाँस खेती गर्ने गरेको शिवशक्ति घाँस बीउ उत्पादक संघका सचिव विमल अधिकारीले बताए। जोत्न, मल हाल्नु नपर्ने तथा लगानी कम र आम्दानी राम्रो हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको अधिकारी बताउँछन्।

उनका अनुसार जिल्लामा अहिले एक हजार दुई सय हेक्टरमा वरसिम घाँस खेती गरिएको छ। व्यावसायिक रुपमा घाँसखेती गर्ने दाङ पहिलो जिल्ला हो। गत वर्ष संघले ३५ लाखको घाँस बेचेको थियो। यस वर्ष वरसिम घाँसको बीउ करिब ७० लाखको बिक्री हुने अनुमान गरिएको छ।

घोराही-६ मा २०५६ सालदेखि नै व्यावसायिक रूपमा घाँस खेती सुरु भएको थियो। घाँसको उत्पादन राम्रो भएपछि घाँसको बीउ बिक्रीका लागि शिवशक्ति घाँसको बीउ उत्पादक संघको कृषि सहकारी स्थापना भएको हो। प्रतिकट्ठा ३० देखि ३५ केजीसम्म घाँसको बीउ उत्पादन हुने गरेको छ। घोराही उपमहानगरपालिका पशु सेवा शाखाले तीन सय ३९ किसानलाई दुई हजार तीन सय ४८ किलो वरसिम घाँस ५० प्रतिशत अनुदानमा वितरण गरेको पशु शाखा प्रमुख खिमबहादुर बस्नेतले बताए।

हिउँदे घाँस वरसिमलाई असोजदेखि मंसिरसम्म छरिसक्नुपर्छ। पुस, माघ र फागुन महिनामा काटेर गाई-भैंसीलाई खुवाउन सजिलो हुन्छ। दाङमा उत्पादन भएको घाँसको बीउ रुपन्देही, पाल्पा, बाँके, बर्दिया, प्यूठान, कैलाली, कञ्चनपुर, मोरङ, सर्लाही, चितवन, नवलपरासी, सुर्खेत, कास्की, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे जिल्लामा बिक्री हुने गरेको बताइएको छ।

कृषकले एक किलो घाँसको बीउ दुई सय रुपैयाँमा बेच्ने गरेका छन्। संघले ग्रेडिङ गरेर प्रतिकिलो एक सय ६५ देखि दुई सय २० सम्ममा बेच्न गरेको छ। वरसिम घाँसलाई घाँसको राजाका रुपमा पनि लिने गरिन्छ। यो घाँस गाई, भैंसी, बाख्रा, कुखुराले राम्रो मानेर खाने गर्छन्। जिल्लामा गाई, भैंसी र बाख्राको व्यावसायिक पालन बढ्दै गएपछि आर्थिक आयका लागि किसानहरूले घाँस मात्रै खेती गर्ने गरेको सचिव अधिकारीले बताए।

पछिल्लो समय दाङ घाँसको बीउ पकेटको क्षेत्रका रुपमा विकसित हुँदै गएको छ। अन्य जिल्लामा हावापानी नमिल्दा यसको बीउ उत्पादन नहुने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका प्रमुख सुदाम भट्टले बताए।

खास गरी धान उत्पादनको तुलनामा पाँचदेखि १० गुणा बढी उत्पादन तथा आम्दानी हुने भएपछि यसतर्फ कृषकको आकर्षण बढेको भट्टले बताए। घाँस खेती गरेका किसानले हरियो घाँस, फलेको दाना बिक्री गरेर पनि आम्दानी गर्न सक्छन्।

लमही नगरपालिकाका किसानलाई व्यावसायिक रूपमा पशुपालन गर्न प्रोत्साहित गराउने उद्देश्यले अनुदानमा घाँसको बीउ वितरण गरेको लमही नगरपलिकाका प्रमुख जोगराज चौधरीले बताए। स्थानीय स्तरमा उत्पादन भएको बीउ खरिद गरेर ५० प्रतिशत अनुदानमा वितरण गर्ने गरेका छौ’, उनले भने। घाँसको व्यवस्थापन भएपछि पशुपालक किसानको यसतर्फ आकर्षण बढेको उनको भनाइ छ। रासस



from Nagarik News - Home नागरिक

About the Author

DjNeshan is a name among millions who struggled, failed and surged ahead in search of success, happiness and contentment. Just like any middle class guy, he too had a bunch of unclear dreams and a blurred vision of his goals in life. All he had was …

إرسال تعليق

Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.