वसन्तको आगमनसँगै राजधानीमा चेरी र जाकाराण्डाका फुल्ने क्रममा छ भने चेरी फुलेर रमाइलो छ। यही समयमा आएको रंगको पर्व फागु पूर्णिमाले काठमाडौंलाई झनै उल्लासमय बनाइदियो। होलीका अवसरमा सोमबार केटाकेटीदेखि वृद्धवृद्धासम्म रंगिन अनुहारले राजधानीको रौनक झनै बढेको देखिन्थ्यो। सर्वसाधारणको रंगीन अनुहार र उन्मुक्त हाँसोले वसन्तको चरम उत्कर्ष पुगेको देखिन्छ।
मुलुकका विभिन्न भागबाट राजधानीमा जम्मा भएका सर्वसाधरणले आ–आफ्नो परिवेशमा पर्व मनाएका छन्। कतै जोगिरा सरर... को गानामा घन्केको छ त कतै फागुका विभिन्न गीत बजेका छन्। ‘फागु जहिले पनि रमाइलो,’ कागेश्वरी मनोहारास्थित आफ्नो घरनजिक रंगिन अनुहारका साथ नाच्दै गरेका ८६ वर्षीय बद्री चौलागाईले भने, ‘सानामा पनि रमाइथ्यो अहिले पनि उत्तिकै रमाइलो लागेको छ।’

होलीको रमाइलो गाउँ सहर सबैतिर छरिएको छ। आज पाहाड क्षेत्रमा फागु मनाइने र भोली तराई क्षेत्रमा होली मनाइने कार्यक्रम छ। तर तराई क्षेत्रबाट राजधानी आएर बसेकाले सोमबार पनि उत्साहका साथ पर्व मनाएका छन्। ‘हामी लामो समयदेखि कालिमाटी क्षेत्रमा जम्मा भएर होली मनाउँदै आएका छांै,’ वीरगन्ज–३१ का मनोज गुप्ता भन्छन्, ‘हामी दुवै दिन उत्तिकै रमाइलोका साथ पर्व मनाउँछौ।’ होलीको अवसरमा राजधानीका विभिन्न ठाउँमा सांस्कृतिक कार्यक्रम पनि राखिएको छ। यस्ता कार्यक्रममा युवायुवतीको बाक्लो भिड रहेको छ।
होली समानता र सद्भावको पर्व पनि रहेको कतिपयको बुझाइ छ। होलीको रङमा सबै समान देखिने र यो दिन सबैको अनुहार हँसिलो रहने उनीहरू बताउँछन्। ‘होलीमा रंगिएको अनुहारले जात–धर्म केही फरक देखाउँदैन,’ बानेश्वरमा होली खेल्दै गरेका महेश बर्तौलाले भने, ‘हरेकपटक यसले समानता र सद्भावको सन्देश दिएर जाने गरेको छ।’
सभ्य बन्दै होली
केही समयअघिसम्म उत्ताउलोरूपमा मनाइने होली पर्व पछिल्लो समय सभ्य देखिन थालेको छ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पूर्णिमा परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ। ‘पछिल्लोसमय सडकमा हिँड्ने अनजान व्यक्तिलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ,’ जोरपाटीका प्रवेश घिमिरे भन्छन्, ‘चिनजानको मानिसलाई सोधेर रङ लगाउने तथा पानी छ्याप्ने गरिन थालेको छ।’
होलीको महत्व
असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसंगीसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा रहेको छ।
हरेक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा फागुपूर्णिमा (होली) पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ।

from Nagarik News - Home उपेन्द्र लामिछाने