भूमिगत आपराधिक समूह नेपाल जनतान्त्रिक मुक्ति मोर्चा गठन गरी आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा मोर्चाका संयोजक सहित ४ जना पक्राउ परेका छन्।
माओवादी द्वन्द्वकाल सकिए पछि तराईमा उक्त मोर्चाले बिगतमा आपराधिक गतिविधिहरू संचालन गर्ने गर्थ्यौ। केही बर्ष देखि निष्क्रिय रहेको उक्त समूहलाई ब्युँताएर खास गरी जिल्लाको चन्द्रौटा देखि कृष्ण नगर क्षेत्रमा आफ्नो आपराधिक गतिविधि गर्दै आएका मोर्चाका संयोजक सहित ४ जना पक्राउ परेको प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले बताए।
पक्राउ पर्नेहरूमा शिवराज नगरपालिका वडा नम्बर ७ का ३१ वर्षीय विक्रान्त भन्ने जग्गु तेली २० वर्षीय सुग्रीव रैदास वडा नम्बर ११ का बिरु भन्ने १८ वर्षीय बुजेश गिरी, २० वर्षीय विपिन बिक रहेका छन्।
उनीहरुलाई प्रहरीको बिशेष अप्रेसन टोलीले पक्राउ गरेको हो। प्रहरी प्रधान कार्यालय बिशेष ब्युरो, केन्द्रीय अनुसन्धान ब्युरो, नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा र कपिलवस्तु प्रहरी सहितको बिशेष टोलीले पक्राउ गरेको हो।
गत मंसिर ४ को निर्वाचन अघि सो समूहले निर्वाचनलाई बिथोल्ने गरी सवारी साधनमा आगजनी गर्ने र चन्दा आतङ्क मच्चाउने कार्यमा संलग्न रहेको प्रहरी उपरीक्षक बस्नेतले बताए। गत कार्तिक २२ गते सो समूहले २ वटा रोकी राखेको ट्रक र एउटा मोटरसाइकलमा आगजनी गरी पर्चा छरेर फरार भएका थिए।
कर्णाली प्रदेश ०२–००१ ख ०५७८ नम्बरको ट्रक ना ५ ख १४५३ नम्बरको ट्रक र बिजयनगर गाउँपालिका.–४ बिजुलीया बस्ने कर्ण बहादुर मल्लको लु ५ प ९२८७ नं. को २०० सिसिको पल्सर मोटरसाइकल समेतमा अज्ञात समूहले श्रृङखलाबद्ध रुपमा आगजनी पर्चा छरेर भागेको थिए। यस्तै समूहले कृष्ण नगरका व्यापारी बुद्ध कुमार अग्रहरी, ओमकार चौधरी, शिवराज नगरपालिकाका व्यापारी पुजारी प्रसाद चौधरीलाई पटक पटक धम्की दिँदै चन्दा माग्ने गरेका थिए।
व्यापारी पुजारीलाई ५ लाख चन्दा मागे बमोजिम एक लाख रकम दिन जाँदा बुजेश गिरी र सुग्रीव रैदासलाई प्रहरीको बिशेष टोलीले गत माघ १३ गते रंगेहात पक्राउ गरेको थियो।
प्रहरीले उनीहरूको साथबाट मोबाइल सिम, ल्यापटप पर्चा लगायतका सामाग्री समेत बरामद गरेको छ। सो समूहले अरूको नामबाट रहेको सिम लिएर धम्की दिने गरेको भेटिएको छ। धम्की पछि सो सिम भने मोबाइलबाट निकालेर उनीहरुले राख्ने गर्थे। जिल्ला प्रहरी कार्यालयमा सो घटनाको विवरण सार्वजनिक गर्दै प्रहरी उपरीक्षक बस्नेतले यो ठुलो सफलता भएको बताए।
पक्राउ परेको चार जनामाथि आपराधिक लाभ शीर्षकको मुद्दा दर्ता गराई घटनाको अनुसन्धान भइरहेको उनले बताए।
from Nagarik News - Home किरणमान बज्राचार्य