Notification texts go here Contact Us Buy Now!

चेलीको चाहना

आज शनिबार। अरूलाई शनिबार फुर्सद हुन्छ। म भने यो दिन झन् व्यस्त हुन्छु किनकि सातामा एकदिन म आफै बनाउँछु खाना। आफू भान्से भएको दिन घरका सबैलाई खुसी बनाउनै पर्‍यो। कसैलाई खसी मन पर्ने त कसैलाई कुखुरा। कसैलाई च्याउ त कसैलाई न्युरो। त्यसमाथि जाडो मौसम न पर्‍यो, मटरकोसा मिसाएको काउली त छुटाउनै भएन। आलुको अचार स्वाद मानी मानी खानेलाई पनि बिर्सनुभएन। अर्कातिर चम्सुर/पालुङ्गोको साग मिठो मान्नेको मर्का पनि बुझिदिनै पर्‍यो। कालो दाल त प्रायः जाडोमा पाक्छ नै।

तर मलाई यी सबै व्यञ्जन तयार पार्न कुनै अल्छी लाग्दैन। आखिर साताको एक दिन त हो। त्यसैले पनि हुन सक्छ-कसरी मिठोभन्दा मिठो बनाउन सकिन्छ भन्नेमै ध्यान हुन्छ मेरो। त्यसैले त लाग्छ-मैले खाना बनाउने दिन अर्थात् शनिबारको विशेष स्वाद पर्खिरहेका हुन्छन् घरका सबै।

हाम्रो भान्सामा पाक्ने सबै कुरा सकभर विषादीरहित हुन्छ। त्यसैले पनि बढी नै बेफुर्सदी हुन्छ यो दिन। शनिबार बिहानै उठेर फार्मर्स मार्केट जाने र विषादी प्रयोग नभएका तरकारी ल्याउने उसको दिनचर्या नै भइसकेको छ। जसलाई हामी एक सातासम्म प्रयोग गर्छौं, पुर्‍याएर। यसरी हेर्दा पनि शनिबार अरू बारभन्दा व्यस्त हुने नै भइयो।

खासमा व्यक्ति खुसी हुने भनेकै घरपरिवार खुसी भएपछि हो। नत्र किन जहाँ पुगे पनि घरै फर्कनुपर्थ्यो र? किन परिवारै सम्झनुपर्थ्यो र? त्यसैले खासगरी बाबुआमाले आफ्ना सन्तान र परिवारका अन्य सदस्यलाई पनि समय दिनु आवश्यक नै हुन्छ। हामीले यस्तै समय परिवारलाई दिन सकेका हुँदैनौं। जसका लागि पनि शनिबार नै आउनुपर्छ।

खासमा परिवारबीच सामीप्य भएन भने गुनासाहरूले निकास पाउँदैनन्। यसरी गुम्सन बाध्य गुनासाहरूले विकृति ल्याउन सक्छन्। यस्तो विकृतिले परिवारमा विभाजन, वैमनश्यता उत्पन्न गराउँछ। यो अवस्था नआओस् भन्नका लागि पनि शनिबार परिवारका लागि समय छुट्याउने गरेका छौं। खाना बनाउने, बजार गर्ने, परिवारसँग आत्मीयता साट्नेजस्ता विविध कार्य नै हुन्, जसले शनिबारलाई व्यस्त बारमा रूपान्तर गर्छन् मेरा लागि। यसो गर्दा निकै खुसी पनि लाग्छ मलाई।

तर पनि आजको शनिबार भने खुसी हुन सकिरहेकी थिइनँ म। हिजो बेलुका मात्र भदाले फोनमा गरेको कुराकानीको आवाजले ‘रि-प्ले’ शैलीमा मेरो मन हुँडलिरहेको थियो। यसो गम्भीर भएर सोच्दा त उसले गरेका कुरा त्यति ठुलो पनि होइन तर पनि मनलाई अशान्त बनाउन भने पूरै सफल रह्यो। घन्टी बज्नासाथ उठाएको फोनमा भदा (दाइको छोरा) ले भनेको थियो, ‘ऋतु दिदी, दर्शन! सब ठीक छ नि? भोलि खाना खाने कार्यक्रम छ। हजुर आइस्यो है ११ बजेतिर।’

‘किन र भाइ, केही खुसीको कुरा?’

उसले केही खुसीको कुरा नभएको बतायो र सबैलाई बोलाएकाले तपाईंलाई पनि सम्झेको भन्यो। अनि फेरि थप्यो-आइस्यो है। अनि फोन राख्यो।

एकैछिन शून्य भएँ। दिमागले खासै केही कुरा सोच्नै सकेन। आफूलाई सम्हालें अनि आफैंलाई प्रश्न गरें-ऋतु, तिमीले दाइ बितेपछि वर्षौं माइतीको यस्तै निम्ता पर्खेकी होइनौ? माइतीले नबोलाउँदा पनि आफै गएर आँगनमा मुढा राखेर टुसुक्क बसेर फर्केकी अनि भित्र जाऊँ, केही खाऊँसमेत नभनेपछि विरक्त मान्दै फर्केको बिर्स्यौ? त्यसपछि माइत जानै छाडेकी होइनौ चित्त दुखेर? तर पनि माइती पक्षको हालखबर बुझ्न बारम्बार फोन गर्दासमेत राम्रो रेस्पोन्स नआएपछि अब फोन पनि गर्दिनँ भनेर वाचा गरेकी होइनौ? निम्ताबिना अब मरे पनि माइत जान्नँ भनेर बसेकी थियौ। अहिले त निम्ता आयो नि? अब पनि फेरि किन आनाकानी? किन दुखिरहेको छ अहिले पनि तिम्रो मन?

फेरि एकपटक विगत सम्झें-अम्मी, पापा, दादा अनि म। हामी चार जनाको परिवार थियो। मेरो पापा सरकारी जागिरे। साधारण तरिकाले घरमा लाउनखान पुगेकै थियो। हामी दाजुबहिनी पनि एकदमै मिलेका थियौं। उमेर फरक मात्र चार वर्षको थियो तर हामी एकै दम्पतीका सन्तानभन्दा पनि साथीभाइजस्ता बढी थियौं। एक अर्कालाई माया दिन्थ्यौं। अम्मी-पापा दुवैले हामीलाई स्वावलम्बी र इमानदारीबारे सिकाउनुहुन्थ्यो। ठुलो होइन असल व्यक्ति बन्नुपर्छ र यो कसरी सम्भव छ भन्ने पढाउनुहुन्थ्यो साथै जीवनमा शिक्षाको महत्त्वबारे सधैं झक्झक्याउनुहुन्थ्यो।

विशेष गरेर अम्मीले छोराभन्दा बढी छोरी हरेक क्षेत्रमा अगाडि बढ्नुपर्छ भन्नुहुन्थ्यो। हुन पनि अम्मीको त्यही अर्तीका कारण अहिलेसम्म पनि म शिक्षा हासिल गरिरहेकी छु। उहाँका हरेक वाक्यलाई उपदेशका रूपमा ग्रहण गर्ने प्रयास गरिरहेकी छु। आखिर हरेक छोराछोरीको पहिलो पाठशाला आफ्नै घर र पहिलो गुरु–गुरुमा आफ्नै बाबुआमा हुन् भन्ने वास्तविकता मैले भुलेकी छैन।

एसएलसी दिएलगत्तै विवाह भयो। घरपरिवार निकै राम्रो। श्रीमान् पनि समझदार। जीवनको मूल्य बुझ्ने। त्यसैले मैले विवाहपछि कुनै समस्या झेल्नुपरेन तर छोरीचेलीका लागि घर जति नै सम्पन्न भए पनि माइतीको यादले सताइरहने। मेरो मानसपटलबाट पनि दादा, अम्मी र पापाको सम्झना हट्नै मानेन। उनीहरूको अवस्था कस्तो होला? कतै बिसन्चो पो भयो कि? चिन्ता भइरहन्थ्यो। त्यसैले त कलेजबाट फर्कंदा एकैछिनका लागि भए पनि पस्थें लुसुक्क माइतीमा। हतारमा खाइने एक कप चिया र आलुचिउरा पनि कम्ता स्वादिलो हुँदैनथ्यो। मुखैमा झुन्डिरहने। मलाई मन पर्ने, त्यो पनि आफ्नै अम्मीले बनाएको खाजा। म आएपछि सँगै खाने भनेर पर्खिरहने दादा अनि त के चाहियो र? मिठो, धेरै मिठो।

म पुगेपछि प्रायः खुसीको हल्ला हुन्थ्यो-‘ऊ मैयाँ आई। घरको आँगन मात्र होइन, बोटबिरुवा पनि हाँस्छन् अब।’ हुन पनि माटोसमेत खुसी भएझैं लाग्थ्यो म जाँदा। सबै खुसी। अम्मी त झन् छोरीले यो खान्छे कि त्यो खान्छे भन्ने चिन्तनमै बिताउनुहुन्थ्यो धेरै समय, अनि कर गरी गरी खुवाउनुहुन्थ्यो। बारीमा फलेको पहिलो फलफूल मात्र होइन, पहिलो पटक टिपिएको तरकारीमा पनि मेरै हक हुन्थ्यो।

मेरो पनि त माइतीप्रति कहाँ कम थियो र लगाव? घरमा कुनै पनि कुराको कमी नहुँदा नहुँदै पनि अनि श्रीमान् र परिवारका सबै सदस्य आँखामा हाल्दा पनि नबिझाउने हुँदा समेत मलाई चाहिँ माइती नै प्यारो लागिरहने। माइतीको आँगनमा खुट्टा परेपछि घर फर्कनै नपरे नि हुन्थ्योजस्तो लागिरहने। माइतीमा रहँदा ठिकठाक रहेको पेट घर जाँनासाथ बिग्रेको अनुभव हुने। टाउको दुख्ने र वान्तासमेत हुने। विभिन्न अप्ठ्यारो महसुस हुन्थ्यो।

तर पनि छोरीका लागि घर नै प्राथमिकतामा पर्नैपर्ने। माइती पराइ नै हुने। अझ विवाह भइसकेपछि आमा र माइतीको महत्त्व झनै बढ्ने। घरमा सुनकै सिंहासन भए पनि माइतीको मुढा प्यारो लाग्ने। त्यसैले भनाइ नै चलेको होला-माइतीको कुकुर पनि प्यारो हुन्छ।

मेरो विवाह भएको केही वर्षमै पापाले जागिरबाट अवकास पाउनुभयो। अनि दादाको पनि विवाह भयो। भाउजू पनि अम्मी, पापा र दादाजस्तै माया गर्ने पाएकी थिएँ तर पनि मेरो लगाव जति माइतीप्रति थियो, त्यति घरपट्टि छँदै थिएन। जति माइतीको आँगनमा रमाउँथें, त्यति घरको कार्पेटमा पनि खुसी हुनै सकिनँ। सोझै भन्नुपर्दा एउटी छोरीका लागि माइती भनेको उसको अभिन्न अङ्ग हो जुन चाहेर पनि ऊबाट छुट्टिनै सक्दैन। मेरो सवालमा मात्र यो लागु नहुनुपर्ने कारणै थिएन।

त्यसो त आमाबाबा अनि दाजुभाइ र दिदीबहिनी तथा घरपरिवारका अन्य सदस्यले उनीप्रति दर्शाउने सम्मान र दिएको माया पनि त भुल्न कहाँ सकिन्छ र? केही राम्रो सामान भयो कि मेरी छोरीलाई घर गृहस्थी चलाउन काम लाग्छ भनेर छुट्याउँछन्। हुँदाहुँदा बालकै छोरीको नाम लिँदै उसको धेरै वर्षपछि हुनेवाला ज्वाइँका लागिसमेत विभिन्न वस्तु छुट्याइन्छ। यस्तै यस्तै गतिविधि र माया त हो जसले छोरीलाई माइतीसँग जोडिरहेको हुन्छ हरदम।

विविध कारणले माइत जान नपाएको धेरै समय बितेको थियो। यत्तिकैमा एकदिन अकस्मात आएको फोनको खबर थियो-अम्मी लडेर बेहोस हुनुभयो। अहिले अस्पतालमा हुनुहुन्छ।

सुन्नेबित्तिकै हंसले ठाउँ छाड्यो। लगाइरहेकै कपडासमेत नफेरी रुँदै रुँदै निस्कें घरबाट। अस्पताल कुन बेला पुगें भन्नेसमेत पत्तो भएनछ। उहाँलाई आवश्यक उपचार गरियो। फ्याक्चर भएको ठाउँमा प्लास्टर पनि गरियो। त्यसपछि घर ल्याएँ। केही बेरपछि अम्मी ब्युँझिनुभयो। जब ब्युँझेर मेरो अनुहार के देख्नुभएको थियो, भन्नुभयो कि त्यहाँ दुई किलो आँप छ। लैजाऊ है। निकै मिठो छ।

आँखाका डिलैसम्म आँसु भरिएर आए। मुटुमा भक्कानो फुट्यो। आफै बिमारी छिन्, छिन-छिनमा बेहोस हुन्छिन्। आफ्नै खानपिनको पत्तो छैन तर पनि अझै छोरीप्रति नै ध्यान छ। उसकै मायाले सताएको छ। उफ्! यो आमा भन्ने कस्तो चिज बनायो ईश्वरले पनि। मुटुभरि माया नै माया। दया नै दया। सकारात्मकता नै सकारात्मकता। अनि आफैलाई लाग्यो-त्यसैले त सृष्टि सम्भव भएको छ। धन्य आमा !

यिनै कुरा मनमा खेलाउँदै र आमाले दिनुभएको मिठा आँप बोकेर घर लागें। सोही राति धेरै गाह्रो भएछ। मलाई पनि खबर आयो। हत्त न पत्त सबैजना मिलेर बि एन्ड बि अस्पताल लग्यौं। रक्तस्राव निरन्तर भइरहेकाले तुरुन्त अपरेसन गरियो तर अपरेसनपछि पनि होस आएन। अहँ, त्यसपछि कहिल्यै आएन आमाको होस।

पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीका लागि धेरै मान्छे आएका थिए। श्रद्धाञ्जली दिँदा सबैको अनुहार आँसुले पोतिएको देखिन्थ्यो। धेरैले आफ्नी आमाको स्थानमा मेरी अम्मीलाई राखेका रहेछन्। हुन पनि सबैलाई माया दिने। सबैको दुःख बुझ्ने। घरमा कोही दीनदुःखी आउँदा पेटभरि खाना मात्र होइन, लुगासमेत दिएर पठाउने। कसैलाई आफ्नो सहयोग आवश्यक परिहाल्यो भने दौडेर त्यस ठाउँमा सघाउन पुगिहाल्ने। यस्ता विशेषता थिए उहाँका। त्यति मात्र पनि होइन, घरमा केही मिठो पाक्यो भने सबैलाई बाँडेर मात्रै रह्यो भने आफू खाने विचित्रको मन थियो अम्मीको। श्रद्धाञ्जलीका क्रममा थाहा भयो, अम्मीको यस्तो बानीबेहोराले सबैको मन जितेको रहेछ।

अम्मीको अन्त्येष्टि गरेर घर आयौं। संसार शून्य लाग्यो तर पनि यसभन्दा बढी बरालिने सुविधा मलाई थिएन किनकि मैले पापालाई र दादालाई सम्हाल्नुथियो। १३ दिनसम्म सँगै बस्यौं। त्यसपछि उही त हो, नियमित काममा फर्कनै पर्‍यो। सधैं पिर र चिन्तामा डुबेर मात्र दैनिकी कसरी चल्थ्यो र?

पापा छोरीज्वाइँ भनेपछि हुरुक्क हुनुहुन्थ्यो। उहाँ बारम्बार भन्नुहुन्थ्यो-ऋतु, म तिम्रो अम्मी गएपछि निराश भएको छु। घर पनि साह्रै शून्य भएको छ। तिमीसँग धेरैबेर बसेर घर व्यवहार पनि मिलाउनुछ। मलाई केही थाहा छैन। बुहारीसँग पनि खासै धेरै कुरा हुँदैन। तिमी कहिले आउँछ्यौ, फुर्सद मिलाएर आऊ न।

मैले पनि पापा अर्थात् माइतीका लागि त्यति धेरै समय दिन सकिरहेकी थिइनँ। बेलाबेलामा गए पनि रमाउन सक्दिनथें। एकातिर अम्मीको अभाव अर्कातिर अम्मीको अनुपस्थितिमा पापाको निन्याउरो अनुहार। आँखाले धेरै कुरा भन्न खोजेकोजस्तो लाग्थ्यो तर म बुझ्दिनथें। त्यसैले अम्मीपछिको माइतीमा मेरो मन अड्नै सकेको थिएन। तिहारको समय थियो। पापाले मलाई धेरैचोटि फोन गर्नुभयो। म घरायसी काममा यति व्यस्त थिएँ कि उहाँसँग पेटभरि कुरा गर्न पनि फुर्सद थिएन। पापालाई भनें कि तिहारपछि दिनभरि बस्ने गरी आउँछु अनि कुरा गरौंला। मेरो वाचा सुनेपछि पापा बेसरी हाँस्नुभयो, जुन हाँसो आजका मितिसम्म पनि मेरो कानमा गुन्जिरहेको छ। ‘आउँछु भन्छे तर आउँदिन’ भन्ने सङ्केत थियो हाँसोको सायद।

ओहो! दैवको लेखा, पापा त्यही रात हर्ट अट्याक भएर बित्नुभएछ। अम्मीबाट त टुहुरी भएकै थिएँ। पापा त भइहाल्नुहुन्छ मलाई माया गर्ने भनेर चित्त बुझाएकै थिएँ। आज उहाँले पनि छाडेपछि मैले आफूलाई धेरै अभागी छोरी सम्झें। पापालाई यो संसारमा अब धेरै दिन रहन्नँ भन्ने महसुस भइसकेको रहेछ। त्यसैले मलाई धेरैचोटि फोन गरेर बोलाउनुभएको रहेछ। तर अफसोच, त्यो उहाँको असीम माया, मप्रतिको त्यो आश, भरमार विश्वास, मैले बुझ्नै सकिनँ। अब यो संसारमा मेरो माया गर्ने दादा मात्र थियो भने दादाका लागि पनि म मात्र थिएँ।

समय आफ्नै गतिमा दौडिरहेको थियो। माइती भन्नु दादा मात्रै हुनुहुन्थ्यो। कहिलेकाहीं माइत जाँदा असाध्यै माया गर्नुहुन्थ्यो दादाले। मैयाँ के खान्छेस्, मैयाँ के चाहिएको छ, मैयाँ आज एकदिन त बस्, मैयाँ के लैजान्छेस् कोसेली? माइतीमा बसुन्जेल उहाँको पूरै ध्यान मलाई कसरी खुसी गराउने भन्नेमा हुन्थ्यो।

अकस्मात एकदिन दादा पनि बित्नुभयो। हे भगवान् ! यस्तो के दुःख आइपरेको मलाई मात्र? माइती नै खाली तुल्याएर किन लग्यौ सबैलाई। एउटी चेलीलाई किन यति धेरै पीडा थोपर्‍यौ? अम्मीको पीडा भुल्न नपाउँदै पापाको पीडा थपिदियौ। ती दुईको पीडामाथि फेरि दादाको पीडा। ओहो ! कसरी सहूँ मैले? कुन छातिले सामना गरौं? हे भगवान् किन यति धेरै निष्ठुर मप्रति? के बिराएँ मैले? के पाप गरें मैले?

अम्मी, पापा र दादा हुँदाको घरको परिदृश्य मनमा झल्झली आइरह्यो। बाल्यकालदेखि खेलेको, झगडा गरेको, तत्काल मिलेको, अम्मी र पापाले हामी दाजुबहिनीको झगडा र मिलनलाई रमाइलो मानी मानी नियालेको, हाँसेकोजस्ता दृश्य आँखाभरि छाइरहे। अबका भावी दिनमा माइतीमा देखिने सम्भावित दृश्यले पनि मन चिमोट्यो। शून्यता, रिक्तता, रुखोपन, बेवास्ता, यस्तै यस्तै त होला नि जस्तो लाग्थ्यो। तर पनि मन बुझाउनुको साटो अरू के नै थियो र मसँग उपाय।

यत्तिकै आज धेरै दिनपछि माइतीबाट निम्तो आएको छ। भदाले बोलाएको छ खान। खासै विशेष केही नभए पनि सबैलाई बोलाएकाले मलाई पनि बोलाएको रे? ‘सबैलाई बोलाएकाले तपाईंलाई पनि बोलाएको’ शब्दले मलाई चिथोरिरहेको छ। के म सबैलाई बोलाउँदा मात्र बोलाइने पात्र हुँ? मेरो पनि जन्म घर होइन र त्यो? भदाभन्दा धेरै वर्षपहिले म जन्मेको घर होइन त्यो? आफै जन्मेहुर्केको, खाइखेली गरेको, पढेलेखेको, दुःखसुख बेहोरेको घरमा एक छाक खान, एक रात बस्न पनि ‘बोलाइनुपर्ने’, ‘निम्त्याइनुपर्ने’ यो कस्तो विडम्बना ? के यही चाहेका हुन्छन् चेलीले?

म अझै पनि अनुत्तरित छु-म आफ्नै माइतीमा पनि निम्त्याइनुपर्ने मान्छे हुँ? गएर अघिपछि पनि निम्तालु भन्ने बाटो खुलै राखूँ कि नगएर माइतीलाई चेलीको स्वतः हक लाग्छ, निम्ता जरुरी छैन भन्ने सबक सिकाऊँ?



from Nagarik News - Home शोभा ज्ञवाली

About the Author

DjNeshan is a name among millions who struggled, failed and surged ahead in search of success, happiness and contentment. Just like any middle class guy, he too had a bunch of unclear dreams and a blurred vision of his goals in life. All he had was …

إرسال تعليق

Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.